झापा, मंसिर ११ – कचनकवल गाउँपालिका स्तरीय विद्यालयका शिक्षकसँग गुनासो सुनुवाइ कार्यविधि २०७४ को बिषयमा विद्यालयमा हुने लैङ्गिक हिंसाका घटनालाई रोक्न र सचेतना फैलाउन लक्षित गर्दै LWF को आर्थिक सहयोगमा SNJD को आयोजनामा कचनकवल गाउँपालिका भित्रका शिक्षकहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा शिक्षकहरूको भूमिका, जिम्मेवारी, र हिंसाको न्यूनीकरणका उपायबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका ५० भन्दा बढी शिक्षकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयभित्र हुने लैङ्गिक भेदभाव, शारीरिक र मानसिक हिंसाका घटनाहरूका कारण, असर, र समाधानका तरिकाबारे विचार प्रस्तुत गरे।

विशेषज्ञहरूले विद्यार्थीहरूमा लैङ्गिक समानताका मूल्य र चेतना विकास गर्न शिक्षकले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए। साथै, विद्यालयको वातावरण लैङ्गिकमैत्री बनाउन आवश्यक नीतिहरू र व्यवहारिक अभ्यासहरूबारे जानकारी प्रदान गरियो।

पथरिया माविका एक सहभागी शिक्षकले भने, “यस किसिमका कार्यक्रमले हामीलाई हिंसाका घटना रोक्न मात्र होइन, आफ्ना विद्यार्थीलाई समानता र सहिष्णुताको शिक्षा दिन प्रेरित गर्छ।”

कार्यक्रमको दौरान कार्यक्रम सँयोजक कुमार चुडालले शिक्षा विभागले तयार पारेको गुनासो सुनुवाइ कार्यविधि २०७४ प्रस्तुत गर्दै शिक्षकहरूलाई समस्या समाधानका व्यावहारिक तरिकाहरू सिकाइएको थियो। साथै, अन्तर्क्रियामा शिक्षकहरूले आफ्ना अनुभव र चुनौतीहरू साझा गर्दै सुझाव प्रस्तुत गरे।

गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार गाउँपालिकाले गुनासो सुनुवाइ कार्यविधि २०७४ कार्यपालिका बैठकले अनुमोदन गरिसकिएकाले , “लैङ्गिक हिंसा जस्तो गम्भीर समस्यालाई समाधान गर्न शिक्षकहरूको सक्रिय सहभागिता अत्यावश्यक छ। यस किसिमका कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिएका छौं।”

कार्यक्रमले शिक्षकहरूलाई लैङ्गिक समानता प्रवर्द्धन गर्न उत्प्रेरित गर्दै विद्यालयलाई सुरक्षित र हिंसामुक्त क्षेत्र बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।