कचनकवल । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राप्रपा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो चुनावी इतिहास र उपलब्धिहरूको विषयमा सत्यता लुकाउँदै आँफैलाई महिमामण्डित गर्ने गरेको कुरा स्वयँले सार्वजनिक गर्नु भएको छ।
२०७४ सालको निर्वाचनमा ४४,६१४ मत ल्याएर विजय हासिल गरेका लिङ्देनले वास्तविक तथ्यलाई बेवास्ता गर्दै आफ्नो योगदानलाई मात्र प्राथमिकतामा राखेर बोल्ने प्रवृत्ति अझै पनि जारी छ। निर्वाचित प्रतिनिधिले सबै काम आफूले मात्र गरेको र अरूको प्रयास नगण्य भएको भनी दाबी गर्नु,इतिहास र लोकतन्त्रको मर्मविपरीत भएकोले यस्तो व्यवहारले आफ्ना मतदाताहरूलाई भेडाबाख्राको रूपमा अझै हेरिरहेको धारणा जनमानसमा फैलिन सक्ने खतरा छ।
जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा बसेका व्यक्तिहरूले सत्यलाई लुकाएर, बढाइचढाइ गरी व्यक्तिगत प्रचार गर्ने प्रचलन रोक्न आवश्यक छ। यो व्यवहार न त जनताप्रति सम्मानजनक हो, न त जिम्मेवार नेतृत्वको पहिचान। जनताले यस्ता प्रवृत्तिहरूलाई चनाखो भएर हेर्नुपर्ने र आफ्ना नेताहरूलाई सत्यतथ्यका आधारमा जबाफदेही बनाउनु पर्ने बेला आएको छ।
पाठामारी झोलुङ्गे पुलको वास्तविकता यस्तो छ :
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले निलगिरी/महावीर जेभी काठमाडौँलाई २०७३ भदौ १५ गते ठेक्का सम्झौता भएको थियो । सो निर्माण कम्पनीले ३ करोड ३० लाख ६८ हजार ३ सय ३६ रुपैयाँ (भ्याट बाहेक)मा पुलको ठेक्का लिएको थियोे । पुलको लम्बाई ३४५.४ मिटर र चौडाइ चार फिट रहेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । ८ वर्ष बित्न लाग्दा समेत निर्माण कम्पनीका युवाराज डाँगीले पुलको दुई वटा पिलर खडा गरी अलपत्र अवस्थामा छाडेपछि सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख भरत अर्याल आँफै निर्माण स्थल पुगेर विषयवस्तु बुझेका थिए। निर्माण कम्पनीले अब पनि अधुरो काम पूरा नगरे कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने योजना प्रमुख अर्यालले बताए ।
दोस्रो स्थानीय सरकारले पदभार ग्रहण गरेसँगै लिखित रुपमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले निर्माणकार्य तत्काल अगाडि बढाउन तथा काम नगरे ठेकेदारलाई कार्वाही अगाडि बढाउन माग गर्दै सम्बन्धित मन्त्रालयमा लिखित रुपमा आग्रह गरेपछि ठेकेदारले काम केही महिनाबाट निरन्तर गरिरहेको प्रष्ट छ ।
झापा क्षेत्र नम्बर ३ को संविधान सभाको निर्वाचन इतिहास :
* पहिलो संविधान सभाको निर्वाचन २०६४ साल चैत २८ गते भएको थियो। यो निर्वाचन नेपालको संविधान लेख्न र गणतन्त्र स्थापना गर्न भएको पहिलो ऐतिहासिक निर्वाचन थियोे,जहाँ नेकपा माओवादीका पुर्ण सिह राजवँशीले जितेका थिए ।
* दोस्रो संविधानसभाको निर्वाचन २०७० साल मंसिर ४ गते पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि दोस्रोपटक भएको थियो। जुन चुनावमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले चुनाव जितेका थिए ।
झापा क्षेत्र नम्बर ३ को निर्वाचन इतिहास :
* २०७४ मँसिर १० गते भएको झापा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदसयको पहिलो निर्वाचनमा राजेन्द्र लिङ्देनले ४४,६१४ मत प्राप्त गरी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए, सिटौलाले ३१,१७१ मत पाएका थिए। यो चुनाव नेपालमा नयाँ संविधान अनुसार भएको पहिलो प्रतिनिधि सभा निर्वाचन थियो।
* २०७९ मँसिर ४ गते भएको दोस्रो पटकको निर्वाचनमा पनि राजेन्द्र लिङ्देनले सिटौलालाई पराजित गर्दै ४०,६४८ मत प्राप्त गरे, जबकि सिटौलाले ३७,३७२ मत पाएका थिए।
झोलुङ्गे पुलको ठेक्का लिङ्देनसँग मिल्छ त ?
२०७४ साल मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका राजेन्द्र लिङ्देनले फेसबुक पोस्टमा २०७३ साल भदौ १५ गते नेपाली काँग्रेसका महामन्त्री तथा तत्कालीन प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाको कार्यकालमा ठेक्का लागेको झोलुङ्गे पुलको कामका लागि २०७४ सालमा प्रचण्डको नेतृत्वमा मन्त्री बनेका कमल थापाले योजना पारित गरेको दाबी गर्दै प्रचारप्रसार गरेका छन्। तर, तथ्यांकले यो दाबीलाई गलत सावित गरिरहेको छ।
तथ्य अनुसार, झोलुङ्गे पुलको ठेक्का प्रक्रिया २०७३ साल भदौ १५ मा नै सुरु भइसकेको थियो। कमल थापा मन्त्री बनेको समयमा यो योजना प्रक्रियामा थियो, तर यसलाई उनीसँग जोडेर राजनीतिक श्रेय लिन खोज्नु सत्यतथ्यको उल्लंघन मात्र होइन, हारको मानसिकतासमेत झल्किन्छ।
पार्टी अध्यक्षको हैसियतमा सत्यलाई लुकाएर भ्रम फैलाउने प्रवृत्ति उनीजस्ता व्यक्तिहरूका लागि शोभनीय होइन। झोलुङ्गे पुलजस्तो सार्वजनिक योजना कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन; यसमा धेरै पक्षको भूमिका हुन्छ।
यसरी, सार्वजनिक रूपमा गलत जानकारी फैलाउने र व्यक्तिगत श्रेय लिन खोज्ने प्रयासले नेतृत्वको नैतिकता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ। पार्टी अध्यक्षले यस्तो गलत प्रवृत्ति रोक्न र सत्यतथ्य प्रस्तुत गर्न अग्रसर हुनुपर्छ।
जनताको विश्वास जित्न सत्य र पारदर्शिता नै सबैभन्दा बलियो आधार हो। गलत प्रचारप्रसारले नेता र पार्टी दुवैको छवि खस्काउने मात्र काम गर्दछ। त्यसैले दुई पटक प्रतिनिधि सभा सदस्य तथा मन्त्री समेत बनेका लिङ्देनले आफ्नो कार्यकालमा मैले वान, टु, थ्री, यी-यी योजना मैले गरेको भनेर भन्नसक्नुपर्छ।