झापा जिल्लाको कचनकवल गाउँपालिका–२ बकलामारीस्थित नारायण सिंह राजवंशीको खेतमा आगलागी हुँदा २०० मन धान र पराल जलेर नष्ट भएको छ ।
मिति २०८१ मंसिर १८ गते राति १:४५ बजे अचानक आगलागी हुँदा राजवंशीले ३ विघा खेतमा लगाएको धानका दुई कुन्यु पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट अन्दाजी तीन लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यद्यपि, मानवीय तथा चौपायामा कुनै क्षति नभएको प्रहरीको भनाइ छ ।
आगलागी भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बनियानीबाट प्रनानी रोहित बहादुर मगर नेतृत्वको टोली र प्रहरी चौकी पथारियाबाट प्रसनि निर कुमार श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगेका थिए । आगो नियन्त्रणका लागि भद्रपुर नगरपालिकाको दमकल र स्थानीयवासीको सहकार्यमा बिहान ३:२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरी चौकी पथारियाबाट घटनास्थल अन्दाजी ५ किलोमिटर पूर्व पर्छ । आगलागीको कारणबारे अझै खुल्न सकेको छैन, र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।