इलाम – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै प्रणाली बलियो हुने बताएका छन्। इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले संविधान संशोधन, निर्वाचन प्रणाली, र स्थिर सरकार निर्माणको विषयमा महत्त्वपूर्ण धारणा राखे।

महरले संविधान संशोधनका लागि चलिरहेको बहसको सन्दर्भमा फरक मतलाई दबाउने प्रयासले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिए। “लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। तर, फरक मतलाई दबाउने वा पार्टीबाट निष्कासन गर्ने प्रवृत्तिले संविधान संशोधनले स्थिर सरकार बनाउने कुराको औचित्य कमजोर हुन्छ,” उनले भने।

उनले संविधान संशोधन र स्थिर सरकार निर्माणका लागि दलभित्रकै विद्रोह र असन्तुष्टिहरूले चुनौती खडा गरेको उल्लेख गरे। उनका अनुसार पार्टीभित्रको फरक मतलाई सम्मान नगर्दा सरकार अस्थिर बन्ने थुप्रै उदाहरण छन्। महरले भने, “मातृकाप्रसाद कोइरालादेखि हालसम्मका अपवाद बाहेक अधिकांश सरकार दलभित्रकै समस्या र असन्तुष्टिका कारण ढलेका छन्। फरक मतको सम्मानले मात्रै लोकतन्त्र बलियो हुन्छ।”

उनले कांग्रेस र अन्य दलमा फरक मत राख्ने नेतालाई मूलधारबाट अलग गर्ने प्रयासले पार्टीहरू विभाजनको स्थितिमा पुगेको स्मरण गराए। महरले माओवादीभित्र पनि फरक मतको सम्मान नभएकोले बारम्बार पार्टी फुटेको उदाहरण दिँदै नेपाली राजनीतिक दलहरूले यस्तो व्यवहार सुधार्न आवश्यक रहेको बताए।

महरले फरक मतलाई दबाउँदा पार्टीको आन्तरिक एकता कमजोर हुने र त्यसको असर संविधान संशोधनमा समेत पर्ने धारणा व्यक्त गरे। उनले भने, “२०४६ सालपछि प्रायः सबै दलमा फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्याउने काम भएका छन्। यसले लोकतान्त्रिक प्रणालीमा चुनौती थपिएको छ।”

कार्यक्रममा उनले पार्टीहरूलाई आन्तरिक लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन आग्रह गरे। “पार्टीभित्र दसौं धारणा आउन सक्छन्। बहुमत र अल्पमतको सम्मानले मात्रै लोकतन्त्र र संविधान दुवै बलियो बन्छ,” उनले भने। महरले फरक मतको सम्मानले समग्र लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।