झापा । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अहिले कचनकवल गाउँपालिकाका प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष शिविर सञ्चालन भइरहेको छ। यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण ,आवश्यकता पहिचान र परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेको छ।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराई शिविरमा सक्रिय रूपमा सहभागी भई जनताको समस्यामा चासो देखाइरहेका छन्। उनीहरू व्यक्तिगत रूपमा प्रत्येक वडामा पुगेर कार्यक्रमको अनुगमन गरिरहेका छन्।
१. अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था परीक्षण।
२. तिनीहरूको विशेष आवश्यकता पहिचान गरी सम्बोधन।
३. अपाङ्गता परिचयपत्र वितरण गरेर उनीहरूलाई राज्यका सेवा र सुविधामा पहुँच सुनिश्चित गराउने।
गाउँपालिका अध्यक्ष राजवंशीले भने, "यो कार्यक्रमले अपाङ्गता भएका नागरिकहरूलाई सम्मान र सेवा प्रदान गर्न मद्दत पुर्याउनेछ। हाम्रो प्रयास उनीहरूको जीवनस्तर सुधार्नेमा केन्द्रित छ।"
त्यस्तै, उपाध्यक्ष भट्टराईले भने, "हामी सबै वडामा सञ्चालित शिविरमा पुगेर समस्याहरू बुझ्दै छौँ। अपाङ्गता भएका नागरिकहरूको आवश्यकता पूरा गर्न हामी प्रतिबद्ध छौँ।"
कार्यक्रमबाट लाभान्वित स्थानीय नागरिकहरूले यस पहलको प्रशंसा गरेका छन्। वडानम्बर ५ का एक स्थानीयले भने, "पहिलो पटक गाउँमै यस्तो कार्यक्रम आएपछि हामीलाई धेरै सहज महसुस गरेका छौँ।"
त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकारको संरक्षण र उनीहरूलाई समाजमा सम्मानजनक स्थान दिलाउने दिशामा महत्वपूर्ण पाइला सावित हुने विश्वास गरिएको छ।