कचनकवल, झापा : कचनकवल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण ,आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ। कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको उपस्थितिमा कचनकवल ४ को वडा कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,अपाङ्गता अधिकारकर्मी र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले शिविरको अनुगमन गर्दै अपाङ्गता भएका व्यक्तिहरूका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले अपाङ्गता अधिकार सुनिश्चित गर्न स्थानीय तह र संघसंस्थाहरूको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत प्रत्येक वडनमा सञ्चालित स्वास्थ्य शिविरमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले पालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिए। उनले शिविरबाट प्राप्त सुझावहरूलाई आगामी योजना तर्जुमा र क्रियान्वयनमा समेट्ने बताए।Screenshot_20241226_213450_Gallery

अपाङ्गता समन्वय समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले कार्यक्रममा विशेष भूमिका निर्वाह गरेका थिए। करुणा फाउन्डेसन नेपालका निर्देशक योगेन्द्र गिरी र वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा शिवाकोटीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न फाउन्डेसनले गर्दै आएको कामबारे जानकारी गराए।

कचनकवल समन्वयकर्ता अन्जना लामिछाने र कार्यक्रम संचालक उमेश मिश्रले कार्यक्रममा सहजीकरण गरेका थिए। सहभागीहरूले शिविरमार्फत अपाङ्गता भएका व्यक्तिहरूका स्वास्थ्य समस्या पहिचान गर्न र आवश्यक सहयोग प्रदान गर्न ठूलो भूमिका निर्वाह भएको प्रतिक्रिया दिए।

शिविरको क्रममा कचनकवल स्तम्भको अवलोकनसमेत गरिएको थियो। कार्यक्रममा मन्त्री राईसँग कचनकवल गाउँपालिकाको समग्र विकासबारे छलफल गरिएको थियो।

स्थानीय जनताको उत्साहजनक सहभागितासहित सम्पन्न शिविरले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।